Saturday, August 18, 2007

बिनासूचना अस्पताल बन्द

जनकपुर, असार ४ - चिकित्सकमाथि दुव्र्यवहार भएको भन्दै जनकपुर अञ्चल अस्पतालले आइतबार आकस्मिक बाहेक सबै सेवा बन्द गरेको छ । पूर्वजानकारीबिना स्वास्थ्य सेवा अवरुद्ध पारिएकाले सयौं बिरामी विचल्लीमा परेका छन् ।
जनकपुर चिकित्सक संघले कार्यरत चिकित्सकमाथि दुव्र्यवहार भएको र अस्पतालको सम्पत्तिमा आगलागी गराएको भन्दै स्वास्थ्यसेवा अबरुद्ध गर्ने निर्णय गरेको थियो । चिकित्सक संघले उक्त घटनामा पत्रकारको समेत संलग्नता रहेको बताएको छ ।

गत शुक्रबार रहस्यमय सडक दुर्घटनामा सख्त घाइते भएका महोत्तरीका पत्रकार कन्चन भण्डारीको चिकित्सकको लापर्बाहीको कारण मृत्यु भएको आरोप लगाउँदै दुबै जिल्लाका पत्रकारले प्रदर्शन गरेका थिए ।

पत्रकार महासंघ धनुषा र महोत्तरी शाखाले अस्पतालभित्र भएको आगजनीमा अस्पताल प्रशासनले भिजलान्ते प्रयोग गरेको आरोप लगाएका छन् । 'हामीलाई बदनाम गराउन र पत्रकार भण्डारीको उपचारमा भएको लापर्बाही ढाकछोप गर्न आगजनी गराइएको हो,' पत्रकार महासंघ धनुषाका सचिव राजेश कुमार कर्णले भने ।

भण्डारीको रहस्यमय हत्याको विरोधमा शनिबार जलेश्वर बजार बन्द गरिएको थियो । सडकमा उत्रेका स्थानीय युवाले केही ठाउँमा सामान्य तोडफोडसमेत गरेका थिए । पत्रकार भण्डारीको हत्यामा संस्थागत समूहको संलग्नता हुनसक्ने आशंका उनका पत्रकार पिता दशरथ भण्डारीले गरे ।

No comments: