Friday, August 17, 2007

घाँटी रेटी एक नेपाली श्रमिकको हत्या

मलेसियाको जोहर राज्यमा पर्ने देशा चेम्बरलानस्थित मेवन प्लाष्टिक कम्पनीमा कार्यरत २ जना नेपालीहरुमाथि स्थानिय लुटेराहरुले आक्रमण गरी एक श्रमिकको घाँटी रेटी हत्या गरेका छन् भने अर्का एकजनालाई घाइते बनाएका छन ।

यही अगष्ट ९ तारिख राती करिब १० बजे स्थानिय (पासार मालम) राती लाग्नेबजारमा बसिरहेको बेला भद्रसिंह राई र नाम्गेल शेर्पालाई स्थानिय लुटेराहरुले एक्कासी आक्रमण गरी पैसा र मोवाईल सेट खोस्न खोजेका थिए । आफुमाथि अचानक आक्रमण भएपनि राई र शेर्पाले पैसा, मोवाइल दिन मानेनन । यतिकैमा एक्कासी लुटेराहरुले छुरा निकाली राई र शेर्पामाथि प्रहार गरे । लुटेराले छुराले घाँटी रेटी राईलाई घटना स्थलमै निर्ममतापूर्वक हत्या गरेका थिए भने शेर्पालाई पनि घाँटी रेटरै हत्या गर्ने प्रयास गर्दा उनी भाग्न सफल भएका थिए । उनी घाईते अवस्थामा भागेर बाँच्न सफल भएपनि उनको अवस्था हाल चिन्ताजनक रहेको छ ।

मृतक राई खोटाङ्ग जिल्ला बाँसपानी गाविस दिक्तेल निवासी हुन् । चिन्ताजनक अवस्थामा उपचार गराईरहेका शेर्पा सोलु सल्लेरी चौरीखर्क-३ निवासी हुन । ३४ महिना अघि वेष्ट ईष्ट मेनवपावरबाट मलेसिया आएका मृतक राईको घरमा श्रीमती १ छोरा र एक छोरी रहेका छन ।

सो घटनाका हत्याराहरु मध्ये १ जनालाई पक्राउ गरी सकिएको छ भने अन्यलाई खोजी भइरहेको स्थानिय प्रहरीले जानकारी दिएको छ । राईको शव नेपाल पठाउने कार्य भैरहेको छ भने घाँटी रेटिएर गम्भीर घाइते शेर्पाको हाल जोहोरबारु कै सुल्तान अस्पतालमा उपचार भइरहेको छ ।

यस घटना पश्चात नेपाल श्रमिक संगठन देशाचेम्बरलान इकाई कमिटीले गहिरो दुःख ब्यक्त गर्दै यस्ता घटनाहरुबाट सचेत रहन अनुरोध गरेको छ साथै इकाई कमिटीले एक जना माथि आक्रमण भएमा सवै संगठित रुपमा प्रतिकारमा उत्रिनु पर्नेकुरा व्यक्त गरेको छ ।

No comments: